म्याग्दी, २८ पुस– बेनी अस्पतालको भवन निर्माणमा भएको ढिलाइले सेवा प्रभावित बनेको छ । ६ तीन वर्षअघि निर्माण सकिनुपर्ने ५० शैया क्षमताको अस्पताल भवनको हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति छ । छ वर्षअघि भवन निर्माण सुरु भएको थियो ।
तेस्रोपटक थपिएको म्याद सकिन चार महिना बाँकी रहँदा दुई वर्षदेखि सुस्ताएको भवन निर्माणको काम अघि बढेको छैन । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भवन निर्माणमा ढिलाई हुँदा सेवा प्रवाहमा समस्या भएको बताए ।
‘पचास शैया क्षमता भएपनि १५ शैयाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौँ’, उनले भने, ‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या छ । भवन नहुँदा उपकरण व्यवस्थापन प्रभावित भएको छ । विशेषज्ञ चिकित्सक आएका छैनन् ।’
सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले २०७३ मंसिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग १८ करोड ८४ लाख ८ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । हालसम्म १० करोड ९२ लाख २७ हजार ६ सय १४ रुपैयाँ भुक्तानी भएको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख सुनिता श्रेष्ठका समग्रमा ६० प्रतिशत र भवनको मात्र ७० प्रतिशत भौतिक प्रगति भएको यो योजनाको अन्तिम तथा तेस्रोपटक थप भएको म्याद २०८० जेठ २४ गते सकिँदै छ । ‘पर्याप्त जनशक्ति परिचालन र निर्माण सामग्री जुटाएर कामलाई तीव्रता नदिए ठेक्का तोड्ने चेतावनी दिएका छौँ’ श्रेष्ठले भनिन् ।
सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन र कोरोनाका कारण देखाएर तेस्रो पटकसम्म म्याद थप भएको हो । आयोजनाले पत्र पठाएको र म्याद थप गर्नुपर्ने समयमा केही मजदुर ल्याएर काम गराउने निर्माण व्यवसायी अन्य समयमा सम्पर्कविहीन हुने गरेका छन् ।