पर्वत, २८ पुस– जिल्लाको विहादी गाउँपालिकाले विपत्मा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
गाउँ कार्यपालिकाको बैठकले विपद् राहत तथा आर्थिक सहायता व्यवस्थापन कार्यविधि २०७५ लाई संशोधन गर्दै गाउँपालिकाभित्र बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार, बैठकले बसोबास गर्दै आएको घरमा आगलागीबाट पूर्णरूपमा नष्ट भएमा आवश्यक व्यवस्था गर्नका लागि २० हजार दिने निर्णय गरेको छ ।
बैठकले बाढीपहिरो तथा अन्य विपत्तिबाट घर नष्ट भएमा २० हजार तथा आंशिक क्षति भएमा १० हजार, गोठ आगलागीबाट नष्ट भएमा ८ हजार र अन्य कारणले गोठ नष्ट भएमा ८ हजार प्रतिपरिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै, विपत्मा परी घाइते भएकालाई सरकारी अस्पतालबाट उपचार गरी घर जान आर्थिक सहयोग स्वरुप प्रक्तिव्यक्ति पाँच हजार यातायात खर्च दिइने भएको छ । रोग लागि अतिविपन्न कारण उपचार गर्न जान नसक्ने परिवारलाई पाँच हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको उपाध्यक्ष मीना तिवारीले जानकारी दिइन् ।
विपत्का कारण पशुचौपाया मरेमा प्रतिमाउ भैँसी सात हजार, गाइगोरु पाँच हजार, माउबाख्रा र बंगुर पाँच हजार, पाठापाठी, पाडापाडी र बाच्छाबाच्छीलाई तीन हजार उपलब्ध गराउनेसमेत बैठकले निर्णय गरेको छ ।