म्याग्दी, २९ पुस– बेनी नगरपालिका वडा नम्बर ९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा तीन करोडभन्दा बढी आम्दानी भएको छ ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधबार भएको १७ औँ कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो पाँच महिनाको अवधिमा तीन करोड ३७ लाख ६ सय ४५ रुपैयाँ आम्दानी भएको जानकारी गराइएको हो ।
कोषका कोषाध्यक्ष कुमारी रोकाले कर्मचारी तलब, पूजा, संस्कृत विद्यालय र ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सो अवधिमा २० लाख दुई हजार खर्च भई तीन करोड १६ लाख ९७ हजार रुपैयाँ बचत भएको जनकारी दिए ।
मेलापर्वमा भेटी २२ लाख ५६ हजार, मण्डप भेटी ८ लाख २२ हजार, ब्याज आम्दानी ५ लाख ५९ हजार, यज्ञ दर्ताबापत १ लाख ६३ हजार, यात्री निवास शुल्कबाट १ लाख ३१ हजार, दान दुई लाख ५८ हजार ८६, जिन्सी सामान बिक्रीबाट १ लाख ९९ हजार र स्टल भाडा २ लाख २२ हजार संकलन भएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा ४० लाख ८५ हजार भेटीसहित ९१ लाख ८२ हजार आम्दानी भएको थियो । भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
जडभरत संस्कृत माविका तीन शिक्षकको तलबका लागि मासिक ७२ हजार, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएको अन्न क्षेत्रका भान्छेलाई मासिक रु १७ हजार तलब मन्दिरको आम्दानीबाट दिने गरिएको छ ।