बागलुङ, ३० पुस– खरका छानो हटाउने नीतिअनुसार बागलुङको निसीखोला गाउँपालिकाले खरको छानो विस्थापित गरेर जस्तापाताले घर छाउन थालेको छ ।
वर्षौँदेखि चुहिने र पुरानो खरले छाएको घरमा बस्दै आएकी निसीखोला–३ की तुलसी विकलाई गाउँपालिकाले जस्तापाताको छानो हालीदिएपछि राहत मिलेको छ । ‘गाउँपालिकाले खर हटाएर जस्तापाताको छाना हाल्दिएपछि सहज भएको छ’ विकले भनिन्, ‘अब वर्षेनि छानो फेर्ने झन्झट हट्यो ।’
गाउँपालिकाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरमा जस्तापाताको छानो हाल्न ३० लाख बजेट विनियोजन गरेको सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए । ‘गतवर्ष १ सय ३ घरमा जस्तापाताको छानो हालेको थियौ, ‘यसवर्ष बाँकी रहेका घरमा जस्तापाताले छाउने क्रम जारी छ’, उनले भने ।
गाउँपालिकाले सात वडामा ७३ जनाको र प्रदेश सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गतका ३० जनाको घरमा अघिल्लोपटक जस्तापाताको छानो हालिएको थियो । ‘पालिकाका गरिब तथा विपन्न परिवारको घरमा जस्तापाताको छानो हाल्न थालेका हौ’ सूचना अधिकारी गौतमले भने ।