बागलुङ, १ माघ– दुवै मृगौलाले काम गर्न छोडेपछि शिक्षण अस्पताल काठमाण्डौंमा उपचार गराईरहेकी चित्रादेवी पाध्या (देवी)को उपचारमा खर्च अभाव भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी पाध्याको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपछि खर्च अभाव भएको भन्दै परिवारले सहयोगका लागि अपिल गरेको हो ।
मध्यम परिवारकी पाध्याको उपचारका क्रममा दश लाख बढी खर्च भैसकेको अस्पताल स्रोतले जनाएको छ । दैनिक डायलासिस गर्नुपर्ने, औषधि तथा शैयाको खर्चसमेत धान्न परिवारले नसक्ने अवस्था आएपछि सहयोगका लागि अपिल गरिएको पाध्याका श्रीमान नवराज शर्माले बताए । ज्याला मजदुरी गरेर खाने परिवारकी पाध्याको उपचारमा लाखौं खर्च हुने भएपछि सार्वजनिक रुपमा सहयोगका लागि अपिल गरिएको उनका छिमेकी देबेन्द्र केसीले बताए ।
परिवारका सदस्यले नै मृगौला दान गर्ने सम्भावना भएपनि प्रत्यारोपणका लागि लाग्ने खर्चको अभावमा पाध्याको मृगौला प्रत्यारोपण गर्न नसकिएको उनले बताए । परिवारको अपिलपछि देश विदेशमा रहेका छिमेकी तथा आफन्तले सहयोग पठाउन सुरु गरेका छन् । शुभचिन्तकको सहयोगबाट नै उनको मृगौला प्रत्यारोपण गरिने छ । तीन छोरी र एक छोरा गरी पाध्याका चार सन्तान छन् ।