म्याग्दी, ६ माघ– जिल्लाको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिरोको प्राविधिक अध्ययन गर्न उपकरण जडान भएको छ ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ को फगाम र काभ्रेभिरमा राखिएको डाटा लगरसहितको उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र आर्द्रता नाप्ने सेन्सर र ध्वनि उत्सर्जन गर्ने सेन्सर जडान गरिएको हो ।
उपकरणबाट प्राप्त हुने जमिनभित्रको तथ्यांकले पहिरो जान सक्ने अवस्थाबारे जानकारी दिएर पूर्वतयारी र मनसुन योजना बनाउन सहयोग हुने पहिरोको अनुसन्धान गरिरहेको सजग समूहका सदस्य निमा दोर्जे भुटियाले बताए ।
‘उपकरण राखिएको स्थानमा पानी कति प¥यो, कति कम्पन भयो र चिस्यान कति छ भन्ने कुरा सेन्सरमार्फत डाटा रेकर्ड भइरहेको हुन्छ’ उनले भने ‘यसमा पहिरो जाँदैछ भनेर साइरन बज्ने त हुँदैन तर जमिनभित्रको तथ्यांकले पहिरो जान सक्ने अवस्थाबारे जानकारी दिएर पूर्वतयारी र मनसुन योजना बनाउन सहज हुन्छ ।’
त्रिभुवन विश्वविद्यालयसहित बेलायत, क्यानडा, न्युजिल्यान्डका विभिन्न विद्यालय, भूकम्प प्रविधि राष्ट्रिय समाज, सोसल साइन्स समेतको सहभागितामा भूगर्भ विज्ञान, सामाजिक विज्ञान र मानविकी संकायका नेपाली तथा अन्तर्राष्ट्रिय अनुसन्धाता सहितको टोलीले उपकरण जडान गरेको हो ।
फगाम र काभ्रेभिर पहिरोका हिसाबले जोखिमयुक्त मानिन्छ । अनुसन्धानमा संलग्न मानवशास्त्री टेकबहादुर दोङले म्याग्दीसहित काभ्रे, सिन्धुपाल्चोकको भोटेकोसी, बाह्बिसे, दोलखाको भीमेश्वर नगरपालिकाका १० स्थानमा उपकरण जडान गरेर पहिरोको अध्ययन थालिएको बताए ।
जमिनको २० मिटर तलसम्म गाडिएको उपकरणले माटोमा भएको हलचलबारे हरेक १० मिनेटमा कम्प्युटरलाई जानकारी प्रवाह गर्छ । कम्प्युटरसम्म आइपुगेको सूचना सरोकार निकायलाई समयमै जानकारी दिनसके त्यसले क्षति कम गराउन मद्दत पुग्ने सजग समूहका सदस्य भुटियाले बताए ।