बागलुङ, ८ माघ– जिल्लाको जैमिनी नगरपालिकाका दशवटा सामुदायीक बिद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । माध्यमिक तहमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्रछात्रालाई पुरस्कृत गर्नेगरी अक्षयकोष स्थापना गरिएको हो ।
हाम्रो जैमिनी संस्थाले ‘हाम्रो जैमिनी संस्था विद्यालय अक्षयकोष’ कार्यक्रमअन्र्तगत जैमिनीका दशवटै वडाका एक÷एक सामुदायीक माविमा अक्षयकोष स्थापना गरेको हो । बिद्यालयको स्वामित्व तथा सञ्चालनमा रहनेगरी हरेक बिद्यालयमा १५ हजार रुपैयाँको अक्षयकोष बनाइएको संस्थाका अध्यक्ष छाँयादत्त चापागाईंले बताए ।
‘अक्षयकोषका लागि १५ हजार थोरै भएपनि यो सांकेतिक हो भनेर बुझ्नुपर्छ, हामीले यसलाई बढाउने छौं’ चापागाईंले भने ‘देशविदेशमा रहेका युवा साथीहरुको सक्रियतामा संकलन भएको एक लाख ५० हजार रुपैयाँ दश सामुदायीक बिद्यालयमा पु¥याएका हौं ।’
बिद्यालयले आन्तरिक स्रोतको परिचालन गरेर पनि अक्षयकोष बृद्धि गर्नसक्ने उनले बताए । सामान्य स्टेशनरी समेत जुटाउन नसकेर बिद्यालय छोड्नुपर्ने बाध्यतामा रहेका बिद्यार्थीको सहयोगी बन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको उनले बताए ।
जैमिनीका सामुदायीक बिद्यालयमध्ये ‘एक वडा एक सामुदायीक बिद्यालय’ छनोटको मापदण्ड बनाएर संस्थाले सहयोग गरेको हो । विपन्न परिवारका बालबालिका धेरै रहेको बिद्यालयलाई प्राथमिकता दिईएको उनले बताए ।
संस्थाले अभियानको दोस्रो चरणमा जैमिनीका पल्लोपाखा सामुदायिक मावि, सुन्तलाचौर मावि, भरतपुरी माबि, जनता माध्यमिक विद्यालय पैञ्यु, जनता मावि पाहीलाई अक्षयकोषको रकम हस्तान्तरण गरेको छ । यसअघि संस्थाले जैदीको संस्कृत मावि, छिस्ती मावि, जनकल्याण मावि, सर्बोदयजनक मावि र जनता माविमा अक्षयकोष स्थापना गरेको थियो ।
‘युवाहरुको अभियानले बिद्यालयलाई जिम्मेबार बनाएको छ, अक्षयकोष स्थापनाले हामी उत्साहित छौं’ पल्लोपाखा माविका प्रधानाध्यापक टेकनारायण आचार्यले भने ‘यो अभियानले विपन्न विद्यार्थीलाई सहयोग गर्नेछ ।’