काठमाडौं, ९ माघ– आज साँझदेखि सुदूरपश्चिमहुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएको छ । सोही प्रणालीका कारण राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम र कर्णालीका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार र बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ भने राती सामान्य वर्षा र हिमपातको हुने सम्भावना छ ।