बागलुङ, १३ माघ– धौलागिरी बहुमुखी क्याम्पस बागलुङको ६० औं बार्षिकोत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा नेपाल पत्रकार महासंघ बागलुङ शाखा बिजयी भएको छ । स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसलाई २–० गोल अन्तरले पराजित गर्दै पत्रकार महासंघ विजयी भएको हो ।
धौलागिरी बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न ९ ए साईड फाइनल खेलमा पत्रकार महासंघका लागि शंक बिकले पहिलो खोल गरे । दोस्रो हाफको पहिलो दश मिनेटमा बिकले गोल गरेर महासंघलाई अग्रता दिलाएका थिए । त्यस्तै पत्रकार महासंघका लागि खेलको अन्तिम समयमा रोहन जिसीले अर्को गोल गरेका थिए ।
यसअघि क्याम्पसका प्राध्यापक र स्ववियुबीचको खेल ३–२ को गोल अन्तरमा स्ववियुले जीतेको थियो । स्वतन्त्र विद्यार्थी युनियनका लागि बिषेश पराजुलीले पेनाल्टीमा दुई गोल गरे भने मनोज जिसीले एक गोल थपे ।
त्यस्तै, प्राध्यापक कर्मचारीको तर्फबाट कमल शर्मा र याम बहादुर पोखरलले समान एक÷एक गोल गरेका थिए । तीन समुहका बीचमा भएको खेलमा पत्रकार महासंघ बिजेता र स्वतन्त्र विद्यार्थी युनियन उपबिजेता बनेका हुन् । क्याम्पसको ६० औं बार्षिकोत्सवका अबसरमा सप्ताहव्यापी बिबिध खेलकुद, साहित्य र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको क्याम्पसले जनाएको छ ।