फाइल तस्बिर
बागलुङ, १४ माघ– जिल्लाको दुर्गम गाउँ ढोरपाटन नगरपालिका–६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा संचालनमा ल्याएको हो ।
नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरुप देशभरका विकट र दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीब्रता दिएको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ट इन्जिनियर केशव शर्माले बताए ।
खानीगाउँ माथि रहेको डाँडामा १२ मिटर अग्लो टावर निर्माण गरी फोरजी इन्टरनेट सेवा उपलब्ध गराइएको प्रमुख शर्माले बताए । सेवाबाट खानीगाउँसहित खिबाङ, खोरिया, थाम्का र चामीदुवार गाउँका २ सय बढी घरधुरी प्रत्यक्ष लाभाम्बित हुने छन् ।
जिल्लाकै निकै दुर्गम र विकट रहेको स्थानमा फोरजी मोवाईल सुचारु भएसँगै ईन्टरनेटको पहुँचबाट टाढा रहेका नागरिकलाई जोडन सफल भएको टेलिकमले जनाएको छ । फोरजी सेवा सञ्चालन भएपछि गाउँमै मोवाईल डेटामार्फत ईन्टरनेट चलाउन सहज भएको स्थानीय रेशम बुढा मगरले बताए ।
सूचना र सञ्चारको व्यवस्था नहुँदा केहि वर्ष पहिलेसम्म हुलाक र कटुवाल प्रथाको भर पर्नुपर्ने बाध्यता अहिले टेलिफोन, मोबाइल र इन्टरनेटको सुविधाले हट्दै गएको मगरले बताए । ‘भौगोलिक हिसाबले विकट गाउँमा मोवाईल सेवा नहुँदा सञ्चारमा समस्या रहेको थियो, अहिले कुनै जानकारी र सूचना आदानप्रदान गर्न सहज भएको छ’ मगरले भने ।