म्याग्दी, १४ माघ– जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जलविद्युत् आयोजनाको सहयोगमा क्लबको भवन निर्माण भएको छ ।
नौ दशमलव तीन मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाले उपलब्ध गराएको १० लाख सहयोगबाट बेसीगाउँमा अन्नपूर्ण युवा क्लबको भवन निर्माण भएको हो । आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो सहयोग गरेको थियो ।
भवनमा तला थप गरेर एक सय जना क्षमताको सभाहल र कार्यालय बनाइएको क्लबका अध्यक्ष टकबहादुर पुनले जानकारी दिए । भवन निर्माणपछि तालिम र बैठक गर्न सहज भएको छ । भवनको बिहीबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा र गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गरे ।
यसैगरी नारच्याङमा प्रथम अन्नपूर्ण युवा क्लब कप खेलकुद प्रतियोगिता पनि बिहीबारदेखि सुरु भएको छ । पाँच दिनसम्म खुला पुरुष, महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता हुनेछ । पुरुष भलिबल र बास्केटबल प्रतियोगितामा विजेता र उपविजेतालाई कपसहित नगद १ लाख ५ हजार पाँच सय ५५ र ६६ हजार छ सय ६६ प्रदान गरिने भएको छ ।
महिला भलिबलको विजेता र उपविजेतालाई कप, मेडल र प्रमाणपत्रसहित ५५ हजार पाँच सय ५५ र २३ हजार तीन सय ३३ नगद पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । उद्घाटन कार्यक्रममा मूत्रथैलीको क्यान्सरका बिरामी मनकाजी गर्बुजालाई अतिथिहरूले १० हजार सहयोग गरिएको थियो ।