म्याग्दी, १८ माघ– बेनीको मंगलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल संरक्षण थालिएको छ । मंगलाघाट र ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा १९४४ मा स्थानीय प्रविधि र स्रोत साधनको प्रयोग गरी बनाइएको झोलुङ्गे जीर्ण बनेपछि मर्मत थालिएको हो ।
बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले स्वरुप नबिग्रने गरेर पुल मर्मत गर्न लागिएको जानकारी दिए । प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गर्न लागेको हो ।
नदीबाट पुलको उचाइलाई अहिलेभन्दा बढाउने र काठको ठाउँमा ‘स्टिल डेग’ राखिने छ । बयालीस मिटर लामो पुलको पुनःनिर्माण गर्न करिब ४५ लाख लागत अनुमान गरिएको प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमका प्राविधिक दयाराम शाहले बताए । पर्खाल भत्काएर पुरानै ढुंगाबाट नयाँ बनाउने र पुरानै लठ्ठालाई तन्काएर राखिने श्रेष्ठको भनाई छ ।
बागलुङ गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो । स्थानीय कृष्णबहादुर सार्कीका अनुसार तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा बनाएर पुल निर्माण गरिएको थियो ।