म्याग्दी, १८ माघ– बेनी नगरपालिकामा वडास्तरमा राष्ट्रिय परिचयपत्र दर्ता सुरु भएको छ । नगरपालिकाको १० वटै वडामा एकै पटक परिचयपत्र दर्ताका लागि घुम्ति शिविर सञ्चालन सुरु भएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीयतह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान सुरु भएको हो ।
नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठले एक वटा वडामा दुई वटा स्टेशन रहेको र उत्साहजनक सहभागिता रहेको जानकारी दिदै बेनी बजारमा रहेका २ वडामा कम भीडभाड भएपनि ग्रामीण क्षेत्रमा दर्ता शिविरमा भीड रहेको बताए ।
एक वटा स्टेशनमा कम्तिमा १५ दिन टोलीले जैविक र व्यक्तिगत विवरण दर्ता गर्ने समय तालिका बनाइएको र बेनी नगरपालिका सकिएपछि गाउँपालिकामा टोली खटिने प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए ।
परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्ममिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पतिपत्नीको नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश हुने पौडेलको भनाई थियो ।
हालसम्म जिल्ला प्रशासन कार्यालयमा मात्र राष्ट्रिय परिचयपत्र दर्ता हुदै आएको थियो । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राष्ट्रिय परिचयपत्र दर्ताको लागि अनलाइन टाइम कार्ड लागू गरिएको र १ वटा स्टेशन थपेर सेवालाई छिटो तथा सहज बनाउन पहल गरिएको पौडेलले बताए ।