पर्वत, १८ माघ– जिल्लाको जलजला गाउँपालिकाले ज्येष्ठ नागरिकहरूको जटिलतालाई हेरेर टोलमा नै पुगेर स्वास्थ्य परीक्षण गर्न थालेको छ ।
वडामा रहेका स्वास्थ्य संस्थाहरूमा पुग्न ज्येष्ठ नागरिकले धेरै दुःख गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मीहरूलाई पालो र तालिका अनुसार टोलमा पठाउने गरी स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।
निश्चित टोलका ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला पारेर सबैलाई एकै ठाउँबाट सेवा दिँदा उनीहरूले लामो दूरी हिँड्नु नपर्ने गरी टोल टोलमा नै स्वास्थ्य शिविरको व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए ।
शिविरमा ६० वर्ष उमेर पार गरेका सबै ज्येष्ठ नागरिकको निःशुल्क र अनिवार्य रूपमा स्वास्थ्य जाँच गरिने उनले जानकारी दिए । नागरिकमा सर्ने रोगसँग बढी डराउने र नसर्ने रोगको बारेमा बेवास्ता गर्ने प्रवृत्ति रहेका कारण यस्तो अभियान चलाउन लागेको उनको भनाई छ ।
भित्रभित्रै मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग लगायतका रोगले गालिसकेको अवस्थामा मात्रै थाहा पाउँदा बचाउन नसकिने अवस्था पनि आउने भएकाले नसर्ने रोगमा बढी केन्द्रित गरिएको नाग्लीवाङका वडाध्यक्ष हरि विकास जीसीले बताए ।
स्वास्थ्यकर्मीहरूबाट स्वास्थ्य परीक्षण‚ परामर्श सेवा, सामान्य उपचार सेवा र प्रेषण सेवा प्रदान हुने भएको छ । शिविरबाट टोल टोलमा आधारभूत स्वास्थ्य सेवा पनि प्रदान गरिने पालिकाले जनाएको छ ।