पर्वत, १८ माघ– दुवै मृगौलाले काम गर्न छोडेपछि वीर अस्पताल काठमाडौंमा भर्ना भएका गोविन्द लामिछानेको परिवारले उपचार खर्च सहयोगका लागि अपिल गरेको छ ।
पर्वतको कुश्मा नगरपालिका–१० निवासी लामिछानेको परिवारले उपचार खर्च अभाव भएको भन्दै सहयोगका लागि अपिल गरेको हो । मृगौलाको प्रत्यारोपण गर्दा ठूलो धनराशी खर्च हुने भएकाले परिवारले उपचार खर्च जुटाउन नसकेपछि सहयोगको याचना गरेको हो ।
मध्यम परिवारका लामिछानेले मृगौलाले काम गर्न छोडेको पत्ता लगाउनमै धेरै खर्च भएको जनाएको छ । परिवारकै एक सदस्यले उनका लागि मृगौला दान गर्न तयार रहेको भएपनि खर्च अभावमा उनको मृगौला प्रत्यारोपण गर्न नसकिएको आफन्त काशीराम पौडेलले बताए ।
लामिछानेको परिवार, दाजुभाई तथा आफन्तले ‘गोविन्द लामिछाने बचाऔं अभियान’ सञ्चालन गरेर सहयोगका लागि सर्वसाधारणलाई अपिल गरेका छन् । कलिलो उमेरमानै दुवै मृगौलाले काम गर्न छोडेपछि लामिछाने वीर अस्पतालको बेडमा छटपटाइरहेको र दैनिक डाइलासिस गरेर अस्पतालमा राखिएको पौडेलले बताए ।