बागलुङ, १९ माघ– जिल्लाको काठेखोला गाउँपालिका–७ रेश जाने सडक कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीले म्याद सकिँदासम्म कालोपत्रेको काम थालेको छैन ।
उक्त सडकमा एक वर्षदेखि निर्माण व्यवसायी काममा नफर्कंदा यात्रुलाई सास्ती भएको छ । संघिय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का ६ करोड ७१ लाखमा सम्झौता भएको थियो ।
दुई वर्षमा सक्नेगरी एक्लेखेतदेखि काफलबोटसम्मको सडक कालोपत्रेको जिम्मा पाएको जोशी÷निशान÷आचार्य जेभी एक वर्षदेखि काममा फर्किएको छैन । ठेक्काको म्याद २०७९ साल जेठ २६ गते सकिए पनि हालसम्म निर्माण व्यवसायी काममा नफर्केको हो ।
सडक कालोपत्रे भइसक्ने समयमा बल्ल निर्माण व्यवसायी सम्पर्कमा आएर म्याद थप्ने गरी प्रक्रियामा गएको काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए । ठेक्का सम्झौतापश्चात् सडक चौडा पार्ने, नाली बनाउने कार्य गरी सडकको जम्मा ४५ प्रतिशत मात्रै काम भएको देखिन्छ ।
गाउँपालिकाको गौरवको योजनाका रुपमा रहेको गाउँपालिकाको केन्द्रबाट रेश जाने सडक कालोपत्रेका लागि ठेकेदार कम्पनीलाई गाउँपालिकामा बोलाएर ताकेता गरिएको र एक महिनाभित्रै काममा फर्कने सहमति भएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए ।
सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकिएको निर्माण व्यवसायीको दाबी छ । कोरोनाका कारण काममा ढिलाइ भए पनि सडक म्याद थप गर्दा साथ कालोपत्रका लागि काम थाल्ने जोशी÷निशान÷आचार्य जेभीका आधिकारीक प्रतिनिधि प्रकाश आचार्यले जानकारी दिए ।
उक्त सडकको शुरुवामा पर्ने एक्लेखेतमा पाँच करोड लागतमा मोटरेबल पुल निर्माण भएर बाह्रैमास सवारी चल्ने भए पनि सडक समयमै कालोपत्र नहुँदा यात्रुलाई सास्ती भएको छ । –रासस