बागलुङ, १९ माघ– विद्युत नभएको बेला मोवाईल बत्तिको सहारामा सुत्केरी गराउनुपर्ने बाध्यता रहेको बागलुङको एक स्वास्थ्य संस्थामा बैकल्पिक उर्जाको व्यवस्थापन गरिएको छ ।
बागलुङको गलकोट नगरपालिका–७ मल्ल स्थित मल्ल स्वास्थ्य चौकीमा उज्यालोको लागि वैकल्पिक ऊर्जा (व्याकअप)को व्यवस्थापन गरिएको हो ।
सर्वसाधारण, सरोकारवाला निकाय र सञ्चार संस्थाहरुको दाववपछि सामाजिक संस्था विवाईसी बागलुङले ‘व्याकअप’ को लागि ब्याट्री उपलब्ध गराएको हो ।
विद्युत आपूर्ति भएको बेला चार्ज गर्ने र अवरुद्ध हुँदा त्यही व्याट्रीको प्रयोगले बत्ति बाल्न मिल्ने गरी फेयमेड फाउन्डेसन नेपालद्वारा सञ्चालित ग्रामिण स्वास्थ्य सुधार परियोजनाको सहयोगमा १२ भोल्टको व्याट्री प्रदान गरेको परियोजनाका प्रशासन तथा लेखा अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिऐ ।
तत्काललाई प्रसुती कक्ष, कुरुवा कक्ष र गर्भ परीक्षण कक्षमा वैकल्पिक विद्युतको उपयोग गर्ने मल्म स्वास्थ्य चौकी इन्चार्ज निता कार्कीले बताउनुभयो । स्वास्थ्य चौकीमा नियमित प्रयोग हुने स्थानी स्तरबाट उत्पादित विद्युत तथा केन्द्रीय प्रशारण लाईनको विद्युत बेला–बेलामा जाने समस्या हुँदा अन्तिम अवस्थामा मोवाईलकै लाईट वा ‘टर्च’ बालेर प्रसुती गराउनु पर्ने बाध्यता थियो ।
जिल्लाको बरेङ गाउँपालिका, गलकोट नगरपालिकाका अन्य स्वास्थ्य संस्था, जैमिनी नगरपालिकाका स्वास्थ्य संस्था लगायतका स्वास्थ्य संस्थामा व्याकअपको समस्या रहेको पाइएको छ ।