फाइल तस्बिर
म्याग्दी, २१ माघ– जिल्लाको धवलागिरि गाउँपालिका वडा नं. २ को खोरिया र लमसुङगाउँ सडक सञ्जालमा जोडिएका छन् । गाउँपालिकाको केन्द्र मुनाबाट महतलाहुँदै खोरिया र लमसुङ जोड्ने सडक निर्माणको काम सकिएको हो ।
२०७४ देखि सुरु भएको सडक निर्माणले पूर्णता पाएसँगै यातायातका साधन सञ्चालन हुन थालेका छन् । धवलागिरि गाउँपालिका वडा नं. २ का वडाध्यक्ष अकप्रसाद विकले सडक निर्माण भएपछि स्थानीयवासीमा खुसीयाली छाएको बताए ।
‘बस र जीप सञ्चालन भएपछि लुलाङ, लमसुङ, खोरिया र गुर्जाका पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन्’ विकले भने । मुनाबाट लमसुङसम्मको सात किलोमिटर सडकमा यातायात सञ्चालन हुन थालेको र लमसुङबाट लुलाङहँुदै गुर्जा जोड्ने सडकको एक किलोमिटरभन्दा बढी मार्ग खोलिसकिएको छ ।
मुना–लुलाङ सडकअन्तर्गत पर्ने महतला भिरमा खनिएको सडक स्तरोन्नति भएपछि गत हप्तादेखि यातायातका साधन चल्न थालेका हुन् । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार गण्डकी प्रदेश सरकारले विनियोजन गरेको १० लाख बजेटबाट पूर्वाधार विकास कार्यालयले महतलाको भिरमा ग्रेड सुधार गरेर गाडी चल्ने बनाईएको हो ।
गत वर्ष करिब एक सय मिटर मार्ग खोलिएको सडकको ग्रेड नमिलेका कारण यातायातका साधन सञ्चालन हुन सकेको थिएन । गाउँपालिकाका उपाध्यक्ष पुनका अनुसार लमसुङबाट लुलाङहँुदै गुर्जा जोड्ने सडक निर्माणको कामले पनि गति लिईरहेको छ ।
लुलाङ–गुर्जा सडक निर्माणका लागि गाउँपालिकाले ४५ लाख र गण्डकी प्रदेशले ८० लाख बजेट विनियोजन गरेका छन् । सो बजेटबाट लमसुङबाट लुलाङतर्फ सडक निर्माण भइरहेको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर पाइजाले जानकारी दिए ।