काठमाडौं, २२ माघ– राष्ट्रियसभाको उपाध्यक्षका लागि नेकपा(माओवादी केन्द्र)का सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गराएकी छन् । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको केन्द्रमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।
अर्यालको प्रस्तावकमा राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ छन् भने समर्थकमा नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा छन् । राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार अपराह्न चार बजेसम्मका लागि उम्मेदवारी दर्ता गर्ने समयसीमा निर्धारण गरिएको छ ।
नेपाली काँग्रेस लगायतका अन्य दलले भने उम्मेदवारी नदिने निर्णय आइतबार मात्रै गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको थियो ।
माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत रहेकी अर्याल पूर्वस्थानीय विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेकी छिन् ।