बागलुङ, २७ माघ– जिल्लाको जैमिनी नगरपालिका–२ दमेकमा सञ्चालित आँखा शिविरबाट ५ सय ३८ जना लाभान्वित भएका छन् । शिविरमा ३ सय ३८ विद्यार्थी र २ सय सर्वसाधारणले आँखा परीक्षण गराएका हुन् ।
आँखाको परीक्षण गरिएकामध्ये ७९ जनामा नजिक तथा टाढाको नदेख्ने समस्या देखिएको थियो । उनीहरुलाई निशुल्क चस्मा उपलव्ध गराईएको थियो । २ जना बिरामीमा गम्भिर प्रकृतिको आँखाको समस्या देखिएकाले शल्यक्रियाका लागि हिमालयन आँखा अस्पताल पोखरा पठाईएको नेपाल रेडक्रस सोसाईटि दमेक उपशाखाका अध्यक्ष होमनाथ शर्माले बताए । ६ जना बिरामीको थप जाँचका लागि धौलागिरी आँखा अस्पताल पठाईएको छ ।
नेपाल रेडक्रस सोसाईटी दमेक उपशाखाको आयोजना, वडा नं. २ को सहयोग र धौलागिरी आँखा अस्पताल बागलुङको प्राबिधिक सहयोगमा एक दिने आँखा शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन गर्दै नेत्र ज्योती संघ बागलुङका सभापति भरत पुरीले आँखा जस्तो संवेदनशिल अंगको बेला बेलामा जाँच गरिरहनुपर्नेमा जोड दिए ।
जैमिनी नगरपालिका–२ का वडा अध्यक्ष प्रेम प्रसाद सापकोटाले वडा कार्यालय नागरिकको स्वास्थ्यमा जिम्मेबार रहेको बताए । उनले हरेक बर्ष आँखाको समस्या पहिचान र उपचारका लागि शिविर आयोजना गर्ने बताए ।