बागलुङ, २७ माघ– जिल्लाको काठेखोला गाउँपालिकामा गाउँपालिका स्तरिय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबारदेखि शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष राजु थापाले खेलकुद विकासका लागि खेल प्रशिक्षकहरुको व्यवस्था गर्ने बताउनुभयो । ‘विकास भनेको सडक र भवन मात्रै हो भन्ने मानसिकताबाट माथी उठेर गाउँपालिकाको चौतर्फी विकासका लागि पालिकाले आफ्ना कदमहरु अघि बढाईरहेको छ’ थापाले भने ।
गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले खेलकुद बालबालिका र युवापुस्ताको लागि अत्यावश्यक बिद्या भएको बताए । युवा र बालबालिकालाई स्वस्थ्य र अनुशासित बनाउन खेलकुदको विकास र प्रबद्र्धन आवश्यक रहेको उनले बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम लगायतले बोलेका थिए ।
बिहिबारदेखि सुरु भएको प्रतियोगिता शुक्रबार सकिने छ । गाउँपालिकाको सामाजिक विकास शाखा, कला संस्कृति तथा खेलकुद बिकास समितिले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा भलिवल, कब्ड्डी, कराँते, एथलेटिक्स लगायतका बिधाका खेलहरु हुने छन् ।
गाउँपालिका तहबाट छनौट भएका खेलाडिले जिल्लास्तरीय राष्ट्रपति ररिङ शिल्डमा सहभागी जनाउने छन् । प्रतियोगितामा पालिका ११ बिद्याय सहभागि छन् ।