काठमाडौं, २७ माघ– भूकम्पमा परी टर्की र सिरियामा ज्यान गुमाउनेहरूको संख्या २० हजार नाघेको छ । टर्कीमा मात्रै मृत्यु हुनेको संख्या १७ हजार ६ सय पुगेको त्यहाँको सरकारी समाचार संस्था अनादोलुले जनाएको छ ।
भूकम्पका कारण सिरियामा ३ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । हजारौँ घाइते छन् । लाखौँ मानिस घरबारविहीन बनेका छन् । उद्धारकहरूले भूकम्पमा परेकाहरूको खोजी र उद्धार गरिरहेकै छन् । सहायताकर्मी खोजी र उद्धार कार्यमा चौथो दिन पनि टोलीहरू परिचालित छन् । घाइते र मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूको भनाइ छ ।
भूकम्प प्रभावितहरूको उद्धार र राहतमा ढिलाइ भएको भन्दै आलोचना भइरहँदा टर्कीका राष्ट्रपति तैयप इर्दोआन प्रभावित क्षेत्र पुगेका छन् । वर्षा र हिमपातले उद्धारमा थप समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत पु¥याउने र पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन विश्वका धेरै देशले सहयोग सामग्री पु¥याइरहेका छन् ।