बागलुङ, २७ माघ– नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको ३३ औँ अधिवेशन शुक्रबारदेखी शुरु भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद तथा नेपाली काँग्रेसका सभापति जित बहादुर शेरचनले रेडक्रसकर्मीहरु इमान्दार भएर मानविय सेवामा लाग्नुपर्ने बताए । ‘रेडक्रस बिशुद्ध सामाजिक संस्था भएकाले यसको मर्मलाई बचाउन राजनीति र पुर्वाग्रहभन्दा माथि उठेर काम गर्नुपर्छ’ शेरचनले भने ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका महामन्त्री रामदक्त पौडेल, नेकपा एमाले नेता नवराज पौडेल, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेल, गैरसरकारी संस्था महासघंका अध्यक्ष मुक्तिराम सापकोटा, रेडक्रस बाटाकाचौर उपशाखाका सभापति मदन बहादुर कार्की र बुर्तिबाङ उपशाखाका सभापति पुरण पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका उपमन्त्री मेषलाल शर्माले प्रगति र कोषाध्यक्ष श्रीधर कँडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा जिल्लाका बिभिन्न उपशाखालाई सम्मान गरिएको थियो । शाखा सभापति जब्बर बहादुर लामिछानेको अध्यक्षता, उपसभापति उषा पौडेलको स्वागत, अर्का उपसभापति राजेन्द्र आचार्यको धन्यबाद र उपमन्त्री मेषलाल शर्माको संचालनमा उद्घाटन सत्रको समापन भएको छ । अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने छ ।