बागलुङ, २७ माघ– नियमित काम नहुँदा २०७३ सालमा निर्माण सम्पन्न हुनुपर्ने बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेस्थित स्वास्थ्यचौकीको भवन ७ वर्षदेखि अलपत्र परेको छ ।
ठेकेदारले काम अलपत्र पारेपनि सेवाग्राहीले सास्ती खेप्न बाध्य छन् । भवनसंगै स्थानीयको लाखौं रकमसमेत नतिरेपछि ठेकेदारविरुद्ध स्थानीय आक्रोशित छन् । स्वास्थ्यचौकी भवन रविना एन्ड कन्स्ट्रक्सन प्रालिले २०७२ मा ठेक्का लिएर अलपत्र छोडेको हो ।
अलपत्र भवन हस्तान्तरण नहुँदै जीर्ण भइसकेको स्थानीय बताउँछन् । ठेकेदार कम्पनीले ६ पटकसम्म म्याद थप गर्दा पनि काम पूरा नगरेको सघन सहरी तथा भवन निर्माण आयोजनाकी प्रमुख सुनिता श्रेष्ठले बताइन् ।
‘हामीले पटक–पटक म्याद थप मात्र हैन काम सक्न पनि आग्रह गरेका छौं, तर ठेकेदार कम्पनीले सबै म्याद गुजा¥यो’ श्रेष्ठले थनिन्, ‘अन्तिम पटकको थप म्याद पनि सकियो । अब कारबाहीको प्रक्रिया अघि बढ्छ ।’ श्रेष्ठका अनुसार, स्वास्थ्यचौकी भवनको रंगरोगन र केही झ्याल र ढोका राख्न बाँकी छ ।
स्थानीय सरोकारवालाले पनि स्वास्थ्यचौकी भवन अलपत्र पार्नेलाई कारबाही गर्न सिफारिस गरेको वडा अध्यक्ष तिलबहादुर थापाले बताए । ठेकेदारले काम पूरा नगर्दा वर्षौंदेखि स्वास्थ्यकर्मी र बिरामीका आफन्तले यो सास्ती भोग्नुपरेको छ ।
भवन अलपत्र परेकोमा भ्रष्टाचारविरुद्ध नागरिक निगरानी केन्द्रले पनि चासो लिएको छ । ‘जनतालाई समेत धोका दिएर भवन अलपत्र पारेकाले भ्रष्टाचार मुद्दामा जाने तयारी गर्दै छौं’ निगरानी केन्द्रका संयोजक शैलेन्द्रकुमार श्रेष्ठले भने, ‘नागरिकले भोगेको सास्तीले ठेकेदारको गम्भीर लापरबाही देखिन्छ ।’