बागलुङ, २८ माघ– जिल्लामा प्रजनन् स्वास्थ्य समन्वय समिति गठन गरिएको छ । शुक्रबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाको अध्यक्षतामा प्रजनन् स्वास्थ्य समिति गठन गरिएको हो ।
समितिको सदस्यमा धौलागिरी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट, जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधी, सम्बन्धित वडाका अध्यक्ष, पब्लिक हेल्थ नर्स र समितिको सदस्य सचिवमा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा रहेका छन् ।
जिल्लाको समग्र यौन तथा प्रजनन स्वास्थ्य सुदृढिकरणको लागि आवश्यक सहयोग प्रदान गर्न स्वास्थ्य निर्देशिकाबमोजिम जिम्मेवार निकायका अधिकारी तथा विज्ञहरु सम्मिलित समिति गठन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए ।
जिल्लाको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका क्षेत्रमा प्राविधिक सहयोग, समन्वय, सहजीकरण र अनुगमन तथा सुपरीवेक्षण गर्ने, तथ्यांक विश्लेष्ण र मुख्य सूचाकहरुको आधारमा समस्या पहिचान गर्ने, अध्ययन अनुसन्धानमा आवश्यक सहयोग गरी जिल्लाको यौन तथा प्रजनन् स्वास्थ्य सेवाको समतामुलक पहुँच र गुणस्तरीयताका लागि पैरवी गर्ने समितिको काम, कर्तव्य र अधिकार समन्वय समितिलाई रहेको छ ।
समिति गठनका क्रममा धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. अमित ढुंगानाले अस्पतालबाट दिइने प्रजनन् स्वास्थ्य सेवा र शिक्षा तथा समन्वय इकाईका प्रमुख कुस्मराज उपाध्यायले किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य प्रर्बद्वनबारे चर्चा गरेका थिए ।