म्याग्दी, २९ माघ– बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आगामी फागुन १ देखि १५ गतेसम्म बिहान ६ देखि ८, दिउँसो साढे ११ देखि साढे १ र राती साढे ८ देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिए ।
एम्बुलेन्स लगायत अत्यावश्यक सवारीलाई सहज आवतजावत र साना सवारी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाइने भएको छ । सडक विस्तार र यातायात सञ्चालनसँगै हँुदा दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माणकार्य प्रभावित बनेपछि समयतालिका बनाएको शर्माले बताए ।
निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत प्रशासनमा समय तालिकाको व्यवस्था मिलाउन निवेदन दिएका थिए । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी–गलेश्वर सडक विस्तार र कालोपत्रे गर्न जय धन्नजय–मंगलादेवी–सुवास जेभीसँग १२ करोड २५ लाख ९४ हजार ४ सय ३६ मा ठेक्का सम्झौता गरेको थियो ।