फाइल तस्बिर
म्याग्दी, १ फागुन– जिल्लाको धवलागिरि गाउँपालिकाको दुर्गम बस्ती मल्कबाङको मलम्पार सडक सञ्जालले जोडिएको छ । अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यसवर्ष विस्तार गरी मलम्पार बस्तीमा पु¥याइएको हो ।
सडक सञ्जालको पहुँच जोडिएपछि स्थानीयवासी हर्षित भएका छन् । सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाबाट २५ लाख र गण्डकी प्रदेश सरकारमार्फत विनियोजित १० लाखबाट मलम्पारमा सडकको ट्रयाक निर्माण गरिएको हो ।
वडा नं. ५ का वडाध्यक्ष अमर छन्त्यालका अनुसार मलम्पार पुगेको सडक विस्तार गरी मराङको बुल जोड्ने तयारी गरिएको छ । सडक सञ्जालले जोडिएपछि मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङसम्मको साढे एक घण्टाको बाटो २० मिनेटमै छोटिएको छ ।
करिब एक सय ५० घरधुरीको बसोबास रहेको मलम्परावासीलाई दैनिक उपभोग्य बस्तु ढुवानी गर्न र सदरमुकाम आउजाउ गर्न सहज भएको छ । सडक पुगेपछि दुर्गम गाउँलाई सडकको पहुँचले सुगम बनाएको स्थानीय देवी छन्त्यालले बताइन् ।
‘पहिले स्वास्थ्य सेवा लिन पनि घण्टौँ हिँडेर मल्कबाङ पुग्नुपथ्र्यो, अहिले बिरामी भएमा गाडीबाट केही मिनेटमै स्वास्थ्य चौकी पु¥याउन सकिने भएको छ, सडक आएसँगै गाउँमा विकासको अनुभूति पनि भएको छ’ छन्त्यालले भनिन् ।