म्याग्दी, १ फागुन– समयमै हिउँदे वर्षा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभर डढेलो लागेको छ । वन डिभिजन कार्यालय म्याग्दीका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा डढेलो लागेको हो ।
अन्नपूर्ण गाउँपालिकाका आठमध्ये छ वटा वडाका विभिन्न ठाउँमा अहिले डढेलो लागिरहेको जिल्ला वन अधिकृत चन्द्रमणि सापकोटाले बताए । उनका अनुसार आगलागी भएको अधिकांश भेग हिमपात हुने क्षेत्र रहेको छ ।
अहिले डढेलो लागेका क्षेत्रमध्ये अधिकांश मानवबस्तीभन्दा टाढा छन् । पश्चिमी म्याग्दीको धवलागिरि गाउँपालिकाको उच्च भेगमा अहिले डढेलोले सताउन थालेको छ । मुदी भेगको उच्च क्षेत्रमा पनि डढेलो लागिरहेको छ । डढेलोले धेरै नै वन क्षेत्र नोक्सान गरिरहेको वन डिभिजन कार्यालयले जनाएको छ ।
म्याग्दीको गुर्जा, मुदी, कुहिनेमंगले, चिमखोला क्षेत्रमा डढेलो लागिरहेको बताइएको छ । ‘यो याममा अहिलेसम्म कम्तीमा २५ ठाउँमा डढेलो लागिरहेको छ, यो क्रम बढिरहेको छ’ वन अधिकृत सापकोटाले भने, ‘दक्षिणी भेगको जंगल दिनहुँ डढेलोले सखाप भइरहेको छ ।’