म्याग्दी, ३ फागुन– जिल्लाको बेनी नगरपालिका वडा नं. ९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट सडकबत्ती जडान गरिएको छ ।
गलेश्वर बजारको २ दशमलब ५ किलोमिटर सडक र मन्दिर परिसरमा ५५ सडकबत्ती जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटी परिचालनबाट सडकबत्ती राखिएको जानकारी दिए ।
सडकबत्ती जडान गर्न कुल २ लाख ३० हजार सात सय ५० रुपैयाँ खर्च भएको शर्माले बताए । सडकबत्तीले स्थानीय, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई रातका समयमा पैदल र सवारीसाधनमा आवतजावतका लागि सहज भएको छ ।
‘गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट बत्ती जडान गरिएको छ’, अध्यक्ष रेग्मीले भने, ‘मर्मत र विद्युत् महसुल पनि मन्दिरको आम्दानीबाट व्यवस्थापन गर्छाँै ।’ सडकबत्तीले बजारलाई उज्यालोका साथै सुरक्षित बनाउन सहयोग पुगेको स्थानीयवासी बमबहादुर पुनले बताए ।
गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी पुजारी, कर्मचारीको तलब, संस्कृत विद्यालय, ज्येष्ठ नागरिक आश्रम सञ्चालन र पूर्वाधार निर्माणमा परिचालन हँुदै आएको छ । भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको छ ।