बागलुङ, ५ फागुन अपांगता भएका व्यक्तिहरुको क्षमता बिकास र व्यवसायिक प्रगतीका लागि एकद्वार कार्यक्रम चाहिने सरोकारवालाले बताएका छन् ।
अपांगमैत्री वातावरण निर्माणका लागि स्थानीय तहका सरोकारवालाबीच पैरवी तथा योजना निर्माण बैठकमा सहभागीले सबैको चासो र चिन्तनबाट साझा कार्यक्रम तर्जुमा गर्नुपर्ने धारणा राखेका हुन् ।
बैठकमा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले अपांगहरुले पनि धेरै समूह बनाउन नहुने भन्दै एक भएर आएमा नगरपालिकाले उनीहरुको रोजगार, अधिकारको प्राप्ती तथा परिचयपत्र निर्माणमा लागि सक्दो पहल गर्ने बताए । योजना सम्झौताको समयमा १४ वटै वडामा पुगेर नगरपालिकाले अपांग परिचयपत्र बितरण गर्दा सदरमुकाम आउन नपरेको खड्काले जानकारी गराएका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले सिमित बजेट र योजना भएपनि प्रभावकारी बनाउन सकिने भन्दै बहुअपांगता सरोकार संघ बनाएर एकीकृत कार्यक्रम गर्नुपर्ने सुझाव दिए । सरोकारवालाको बजेट पनि परिचालन गर्न सकेमा अपांगताको क्षेत्रमा सुधार हुने सापकोटाको धारणा थियो ।
कार्यक्रममा सामाजिक बिकास कार्यालयका प्रमुख डम्बर जिसी, बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मी, धौलागिरि बहिरा माबिका अध्यक्ष केवी रानामगर, सबै प्रकारका अपांगता भएका संघसंस्थाका प्रतिनिधि समेतले अपांगता क्षेत्र राज्य र सरोकारवालाको बेवास्तामा परेको गुनासो गरेका थिए ।
अपांग सरोकार संघकी अध्यक्ष चिजा थापाको अध्यक्षता र सचिव टिकाराम शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।