फाइल तस्बिर
बागलुङ, ६ फागुन– ७ वर्षअघि काम थालेर पटक पटक म्याद थपेपनि दुईवटा पक्की पुल अलपत्र छोड्ने निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय बागलुङले कारबाही गरेको छ ।
सार्वजनिक खरिद ऐनको बर्खिलाप गरेको भन्दै कार्यालयले वाई पी कन्स्ट्रक्सन र रफिना निर्माण कम्पनीको ठेक्का सम्झौता रद्द गरेको छ । डिभिजनकै सिफारिसमा संघीय सडक तथा सुपरिवेक्षण तथा अनुगमन कार्यालयले निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।
ढोरपाटन नगरपालिका वडा नं. ५ को भुजीखोला पुल तथा गलकोट नगरपालिका वडा नंं ८ र ९ जोड्ने दरमखोलाको पुल अलपत्र पारेपछि डिभिजनले कारबाही गरेको हो । ३ करोड ३४ लाख लागतको पुलको एक पिलर मात्र उठाइएको छभने बाँकी काम अलपत्र छ ।
‘तीन पटकसम्म म्याद थप गर्दा एक पटक पनि कामको प्रगति नदेखाएपछि कारबाही किन नगर्ने भन्ने आसयको पत्र र सार्वजनिक सूचना पनि जारी गरेका थियौं’ डिभिजनका लेखा अधिकृत रामनाथ पौडेलले भने, ‘कुनै सम्पर्कसमेत नगर्ने, काम पनि नगरी बनेका केही संरचनासमेत बिग्रन थालेपछि यो अवस्था आयो ।’
ढोरपाटनको अधिकारीचौरमा निर्माण गरिने भुजीखोला पुल वाई पी रफिना संयुक्त निर्माण कम्पनीले ठेक्का लिएको थियो । २०७३ असोजको ठेक्का सम्झौताअनुसार २०७४ को माघ ४ मा सकिनुपर्ने उल्लेख छ । लामो समय अलपत्र पारेर अन्तिमपटक २०७७ मंसिर १४ मा थपिएको म्यादमा कुनै प्रगति नभएपछि कार्यालयले ठेक्का रद्दको प्रक्रिया थालेको थियो ।