बागलुङ, ७ फागुन– बागलुङ नगरपालिकाले आइतबारदेखि तीन दिनसम्म नगर स्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता संचालन गर्ने भएको छ । स्थानीय तह स्थापना पछिको यो खेल पाँचौ संस्करण हो । गत बर्षको खेल चुनावका कारण प्रभावित भएर असारमा संचालन भएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले खेलकुदको माध्यमबाट बालबालिकाको प्रतिभा र क्षमता बाहिर ल्याउने तथा खेलबाट नगरको पहिचान बढाउने उद्धेश्य राखिएको बताए । नगरपालिकाले प्रतियोगिता संचालन गर्न ५ लाख बजेट बिनियोजन गरेको थियो ।
यो बर्ष नगरपालिकाले खेलाडीका लागि हरेक दिन एक सय रुपैयाँ खाजाको लागि उपलब्ध गराउने भएको छ । बालबालिकाले दिनभरी भोकै बस्नुपर्ने कुरा पीडाडायी भएकोले खाजाको लागि रकमको व्यवस्था गरिएको नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।
पत्रकार सम्मेलनमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कुमार खड्काले नगरस्तरीय खेल सकिनासाथ जिल्ला स्तरीय राष्ट्रपति खेलकुद प्रतियोगिता संचालन हुने भएकोले व्यवस्थापनका लागि तयारी भईरहेको खड्काले जानकारी दिए । कार्यक्रम नगर शिक्षा शाखाका अधिकृत गौरव रानामगरको संचालनमा सम्पन्न भएको थियो ।