म्याग्दी, ९ फागुन– जिल्लाको मंगला गाउँपालिकाको बाबियाचौरमा ‘मंगलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयको एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो ।
आर्थिक वर्ष २०७५÷०७६ मा सुरु गरिएको उद्यानको निर्माण सकिएपछि औपचारिक रुपमा आइतबार शुभारम्भ गरिएको छ । उद्यानमा संग्राहलय, खानेपानी, गार्डेन, बालउद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ ।
गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि उद्यान सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए ।
पार्कमा शारीरिक व्यायामका लागि रनिङ स्पट, मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि संग्राहलय स्थापना गरिएको छ । उद्यान परिसरमा जग्गादाताको सालिक बनाइएको छ भने संग्राहलयको नाम ‘मंगलाखड्ग नन्द संग्राहलय’ नामकरण गरिएको छ ।
उद्यान बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुई दाम क्षेत्रफलको जग्गा निशुल्क उपलब्ध गराएको थियो भने थप पाँच आना क्षेत्रफलको जग्गा खरिद गर्न पालिका अध्यक्ष रोकाबाट एक लाख र मंगला युवा क्लबबाट दुई लाख आर्थिक सहयोग प्राप्त भएको थियो ।