बागलुङ, १२ फागुन– बागलुङ नगरपालिका वडा नं. २ को विरेन्द्र–ऐश्वर्य पार्कमा आधुनिक तथा अपांगमैत्री शौचालय र कफी सप बनाइने भएको छ । एभरेष्ट बैंकको सहकार्यमा नगरपालिकाले शौचालय र कफी सप निर्माण गर्न लागेको हो ।
कुल २५ लाख लागत स्टिमेट गरिएको परियोजनाका लागि बैंकले ८ लाख र नगरपालिकाले १७ लाख खर्चने गरी नगरपालिकाले बैंकसँग सम्झौता गरेको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र बैंकका गण्डकी प्रदेश प्रमुख सूधिर गौतमले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यसअघि पार्कमा रहेको शौचालय प्रयोगबिहिन भएपछि भत्काइएको थियो । अब बन्ने शौचालय भने नियमित सफाई गर्नेगरी प्रयोगमा ल्याउने नगरप्रमुख श्रेष्ठले बताए । गतबर्ष निर्माण सम्पन्न भएको पार्कलाई नियमित सफाइ गर्ने र आर्कषक बनाएर संचालन गर्नका लागि पनि शौचालय र कफी सप चाहिएको उनको भनाई छ ।
गतबर्ष नगरपालिकाले झण्डै एक करोड खर्च गरेर पार्क निर्माण गरेको हो । पार्क व्यवस्थित बनाउन सके नगरपालिकाले नियमित आम्दानीको श्रोत बनाउन सक्ने श्रेष्ठले बताए । कफी सपबाट भाडा उठ्ने र व्यवस्थापनमा सहयोग मिल्नेगरी अबधारणा ल्याएको हो ।
सम्झौतामा हस्ताक्षरपछि नगरप्रमुख श्रेष्ठले अन्य बैंक तथा संघसंस्थाको सहकार्यमा बजारका अन्य क्षेत्रमा पनि सार्वजनिक शौचालय बनाउने तयारी गरेको बताए । बजारक्षेत्रमा सार्वजनिक शौचालय अभावमा सरसफाइ अभियान प्रभावित बनेको छ ।