बागलुङ, १५ फागुन– जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबारबाट बागलुङ बजारमा शुरु भएको छ ।
जिल्ला खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगिताको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्दै श्रेष्ठले खेल क्षेत्रमा पछिल्लो समय बागलुङले प्रगती गर्दै आएकोले सबै मिलेर लगानी बढाउनुपर्ने बताए ।
खेलका पूर्वाधार निर्माणमा पनि सबैको साथ भएमा खेलबाट जिल्लाको पहिचान बढाउन सकिने समेत श्रेष्ठले बताए । श्रेष्ठले बाङगेचउर खेल मैदानलाई आधुनिक रंगाशाला बनाउने अभियानबारे जानकारी दिंदै सबै पालिकाको योजनामा समावेश गरेर सबैको साथबाट केन्द्रीय तहबाट पनि पहल गर्ने बताए ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षता, कार्यालय सचिव भीमसेन शाक्यको संचालनमा सम्पन्न खेलको पहिलो दिनको पहिलो खेलको रुपमा १ हजार ५ सय मीटर दौड प्रतियोगितामा सम्पन्न भएको छ । प्रतियोगितामा छात्रतर्फ काठेखोला गाउँपालिकाका बादल कार्की र छात्रातर्फ निसीखोला गाउँपालिकाकी शर्मिला बिकले स्वर्णपदक जितेका छन् ।
स्वर्णपदक जितेका कार्कीले १ हजार ५ सय मीटरको दौड ४ मीनेट ३६ सेकेण्डमा पार गरे भने बिकले सोही दुरी ६ मीनेट ३ सेकेण्डमा पुरा गरिन् । छात्रतर्फ बागलुङ नगरपालिकाका रवि बिक द्वितिय भए । उनले ४ मीनेट ५५ सेकेण्ड र तृतिय भएका निसीखोला गाउँपालिकाका सुर्जन मगरले ४ मीनेट ५८ सेकेण्डमा दुरी पार गरे ।
यस्तै, छात्रातर्फ द्वितिय हुने बरेङ गाउँपालिकाकी कोपिला क्षेत्रीले ६ मीनेट १० सेकेण्ड र जैमिनी नगरपालिकाकी कविता खत्रीले ६ मीनेट १२ सेकेण्डमा दुरी पार गरिन् । खेलमा प्रथम हुनेले १५ हजार, दोश्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार समेत पाउने व्यवस्था गरिएको खड्काले जानकारी दिए ।