बागलुङ, १८ फागुन– जिल्लाको जैमिनी नगरपालिका वडा नं. २ दमेकमा श्रीमानको कोदालो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । दमेकको बनहुँ निवासी ४५ बर्षीय केशव नेपालीको कोदालो प्रहारबाट ३६ बर्षीय श्रीमती राधा नेपालीको मृत्यु भएको हो ।
बिहिबार बारीमा आलु खन्ने क्रममा नेपालीको कोदालो प्रहारबाट घाइते राधाको उपचारको लागि धौलागिरि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले जानकारी दिए ।
यसैबीच, लागुपदार्थ खैरो हिरोइनसहित म्याग्दी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट भारतको पश्चिम बंगाल घर भई पोखरामा बस्ने २८ वर्षीय अलेमुन हकलाई पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक किरण लामाले बताए ।
सूचनाको आधारमा जाँच गर्दा ६.५ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदातलबाट सात दिनको म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तरगत कारवाही अघि बढाएको लामाले जानकारी दिए ।
यसअघि रूपन्देही जिल्ला सोमरीमाई गाउँपालिका–३ सिलवारी बस्ने १९ वर्षीय मुस्ताफा खानलाई ३९३ ट्वलेट नाइट्राजेपामसहित प्रहरीले पक्राउ गरेको थियो ।