बागलुङ, १९ फागुन– गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले बिपत् पछिको उद्धार र व्यवस्थापनमा तीनै तहका सरकारको सझोदरी हुनुपर्ने बताएका छन् । बिपत् व्यवस्थापनको लागि स्थानीय तहले संघ र प्रदेश सरकारबाट स्रोत प्राप्त गर्ने भएकाले सबै मिलेर विपत्को व्यवस्थापन गर्नुपर्ने उनको धारणा थियो ।
सशस्त्र प्रहरी बल आश्रीत गुल्म बागलुङले बिपत् पछिको उद्धार र व्यवस्थापन बिषयमा कालिगण्डकी किनारमा आयोजना गरेको नमुना अभ्यासमा सहभागि हुन बागलुङ आएका मन्त्री गाहाले कर्तव्यनिष्ट राष्ट्रसेवकका कारण बिपत्का समयमा सरकारको उपस्थिती बलियो बनेको बताए । उनले बिपत्को व्यवस्थापनमा खट्नेहरुका लागि आवश्यक अत्याधुनिक समग्री र तालिमको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ससस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराका बाहिनी पति सम्भु सुवेदीले बिपत्का बेला ससस्त्र प्रहरीले देखाएको कार्यकौशल प्रसंशनीय रहेको बताए । सुरक्षाका सबै संयन्त्रहरुसँगको सहकार्यमा विपत् पछिको उद्धारमा ससस्त्र प्रहरी अग्रस्थानमा रहने गरेको उनको दावी थियो ।
आश्रीत गुल्मले कालिगण्डकी नदीमा ढुंगा पल्टिएपछि गरिने उद्धार, किनारका नागरिकलाई नदीजन्य बिपत्का बेला गरिने उद्धार लगायत जलप्रकोप पछिको उद्धारका बारेमा नमुना अभ्यास गरिएको थियो । गोताखोरको खोजीको अभ्याससमेत कालिगण्डकीमा गरिएको थियो । कार्यक्रम सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलले सञ्चालन गरेका थिए ।