बागलुङ, २० फागुन– नेपाल शिक्षक संघको नवौं जिल्ला अधिवेसन तथा २२ औं जिल्ला प्रतिनिधिसभा बागलुङ बजारमा शुरु हुदैछ । शनिबार उक्त कार्यक्रमको शुभारम्भ हुने नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेलले बताए ।
शुक्रबार पत्रकार सम्मेलन गरेर संघले उक्त जानकारी दिएको हो । भेलाको उद्घाटन गर्न कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेल आउने भएका छन् । साथै, भेलामा जिल्लाभरका १ हजार ६ सय शिक्षक सहभागि हुने बताइएको छ ।
शिक्षामा गुणस्तर बढाउने र शिक्षकहरुको पेशागत अबस्था सुधार गर्ने लगायतका एजेण्डासहित भेला सम्पन्न हुने बताइएको छ । भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । नेपाल शिक्षक महासंघसँग गरेको सम्झौता कार्यान्वयनका लागि संघ सरकारको ध्यानाकर्षण गराउने पौडेलले बताए । बिद्यालय कर्मचारी, राहत शिक्षक, बाल शिक्षक र कक्षा ११ र १२ पढाउने शिक्षकको दरबन्दी कायम गर्नुपर्ने शिक्षकको माग छ ।
त्यस्तै कर्मचारीले पाउने ग्रेड भन्दा शिक्षकको कम भएको, भत्ता लगायतमा शिक्षक ठगिएकोले समान हुनुपर्ने माग पनि उनीहरुको छ । अधिवेसनमा दिर्घसेवा गरेका ५५ जना शिक्षकलाई सम्मान गर्ने, उत्कृष्ट महिला शिक्षकलाई पुरस्कृत गर्ने लगायतको कार्यक्रम रहेको संघले जनाएको छ ।