बागलुङ, २० फागुन– छाडा कुकुरको संख्या नियन्त्रण गर्न बागलुङका दुई स्थानीय तहमा निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ ।
केन्द्रीय रिफरल अस्पताल काठमाडौंको आयोजना तथा स्थानीय तह कृषि तथा पशु शाखा, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङको व्यवस्थापनमा जैमिनी र बागलुङ नगरपालिकामा शिविर सञ्चालन गरिएको हो ।
भुस्याहा कुकुरसँगै रेविज रोग नियन्त्रण गर्ने उदेश्यले घरपालुवा र छाडा कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गरिएको पशुविज्ञ केन्द्र बागलुङका वरिष्ठ पशु चिकित्सक तथा सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।
स्थानीय तह पशु शाखामा कार्यरत जनशक्तिको सहयोगमा बजार क्षेत्रबाट छाडा कुकुर पशु एम्बुलेन्समा संकलन गरी केन्द्रमा ल्याइएको थियो । जैमिनीमा ७३ र बागलुङ नगरपालिकामा ५१ कुकुरको स्थायी बन्ध्याकरण गरी रेविज रोगविरुद्वको खोप पनि लगाईएको पौडेलले बताए । बन्ध्याकरण शिविरमा केन्द्रीय रिफरल अस्पताल काठमाडौंबाट आठ जना पशु चिकित्सक सहभागी थिए ।