बागलुङ, २२ फागुन– आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रंग तथा अबीर लगाएर मनाउने चलन छ ।
सामान्यतया फाल्गुण शुक्ल पूर्णिमाका दिन फागु मनाइने भएपनि यो वर्ष चतुर्दशीकै दिन यो पर्व मनाउन लागिएको हो । सोमबार ४ बजेर २८ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि पूर्णिमा तिथि लाग्ने पञ्चांगले उल्लेख गरेका छन् ।
यस्तै, मंगलबार साँझ ६ बजेर ११ मिनेटसम्म पूर्णिमा तिथि रहेको छ । मंगलबार तराई–मधेशमा होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ । यो पर्वलाई कटुता समाप्त गरी एकआपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ ।
फागु पर्व होली नामले पनि चिनिन्छ । हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ । होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ ।
फाल्गुण शुक्ल अष्टमीको दिन चीर गाडेपछि होली हुन्छ । तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ । पहाडी क्षेत्रमा होलिकादहन गरेपछि होली सकिन्छ भने तराईमा होलिकादहन गरेपछि यो पर्व मनाइन्छ ।