आज तराई–मधेश क्षेत्रमा होली पर्व मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन रहेको छ ।
पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ । अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राती ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ । तराई–मधेशमा भने पूर्णिमाको राती ‘होलिका दहन’ गरेको भोलिपल्ट होली मनाइन्छ ।
तराईमा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर, शुभकामना साटासाट गरी होली पर्व मनाइन्छ । होलीका बेला गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ । यो क्षेत्रमा होलीमा गाइने जोगिरा गीतको विशेष महत्व छ । रैथाने परिकारले समेत यो पर्वमा रौनक थप्छन् ।
पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाइन्छ । यसैगरी द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलाएको पनि बताइन्छ ।