बागलुङ, २४ फागुन– जिल्लाको एकमात्रै मालढुंगा प्रबेशद्वारले लामो समयपछि संरक्षक पाएको छ । जिल्ला समन्वय समिति बागलुङले प्रबेशद्वारको मर्मत गरेर संरक्षकत्व ग्रहण गरेको छ । प्रबेशद्वार मर्मतपछि चिटिक्क बनेको छ ।
बागलुङ प्रबेशको मुख्य नाका मालढुंगामा रहेको प्रवेशद्वार संरक्षणको अभावमा जिर्ण बनेको थियो । २०७४ साल यता मर्मत तथा रंगरोगन नभएर प्रवेशद्वार उजाडिएको थियो । मुख्य प्रबेशद्वारकै संरक्षण नभएको भन्दै आलोचना हुन थालेपछि जिल्ला समन्वय समितिले रंगरोगन र मर्मत गरेको हो ।
प्रबेशद्वारमा रहेका स–साना मन्दिरहरु जिर्ण बनेका थिएभने वनस्पती उम्रिएर हुर्किंदै थिए । प्रबेशद्वार कस्ले संरक्षण गर्ने भन्ने बिषयमानै अन्यौल भएकाले लामो समय रंगरोगन हुन नसकेको जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले बताए ।
‘हामीले एक÷दुई बर्षअघिदेखि नै प्रबेशद्वार मर्मत र रंगरोगनका लागि प्रयास गरिरहेका थियौं तर लगत स्टमेट निकाल्ने इञ्जिनियरको अभावमा समय गुज्रियो’ गौतमले भने ‘अब प्रबेशद्वारको नियमित रेखदेख, रंगरोगन र मर्मत हुन्छ ।’ भवन डिभिजनका इञ्जिनियरको सहायतामा लगत स्टमेत तयार भएपछि मर्मत तथा रंगरोगन गरिएको गौतमले बताए ।
४ लाख ५० हजार खर्चेर प्रबेशद्वार मर्मत र रंगरोगन गरिएको हो । संघीयताको कार्यान्वयनसँगै तत्कालिन जिल्ला बिकास समितिले बनाएको प्रबेशद्वार नगरपालिकाले हेर्ने वा अन्य कुनै निकायको क्षेत्राधिकार हुने भन्ने अन्यौल थियो । जिल्लाकै महत्वको बिषय भएकाले जिससले संरक्षकत्व लिएको गौतमले बताए ।