म्याग्दी, २४ फागुन– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ स्थित रुप्से खोलामा ४८ मिटर लामो ‘बेलिब्रिज’ जडान शुरु गरिएको छ ।
आयोजनाका इञ्जिनियर विष्णु चापागाईंले रुप्से खोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि सवारीसाधन आवातजावत सहज बनाउन बेलिब्रिज राख्न लागिएको बताए ।
‘ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले बेलिब्रिज बनाउन पूर्वाधार निर्माण सुरु गरेको छ’ चापागाईले भने, ‘एक वर्षमा बेलिब्रिज निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’ बेलिब्रिज जडान गर्न मुक्तिनाथ निर्माण सेवाले ३ करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको छ ।
कम्पनीका सञ्चालक ओम गौचनले सम्झौता लगत्तै बेलिब्रिजको फाउण्डेशन र पर्खाल निर्माणको काम थालेको बताए । कम्पनीमार्फत बेलिब्रिज निर्माणका साथै रुप्सेखोला नजिकै सडक निर्माण र पहिरो पनि पन्छाउने सम्झौता भएको छ ।
२०६४ मा जडान गरिएको महभिर र पोखरे बगरको बेलिब्रिज प्रयोगविहिन बनेपछि बेनी–बगरफाँट र रुप्से खोलामा स्थानान्तरण गर्न लागिएको हो । पुलको अभावमा वर्खायाममा रुप्से खोलामा बाढी आउँदा बेनी–जोमसोम सडकमा यातायात सेवा अवरुद्ध हुने गरेको छ ।
२०७७ साउनमा बाढीले रुप्से खोलामा निर्माणाधीन पक्की पुलको संरचना बगाएपछि निर्माण रोकिएको छ । रुप्से र मुस्ताङको खहरेखोला पुलको संरचनामा बाढीले क्षति पु¥याएपछि डिजाइन परिवर्तन गरी बनाउन आयोजना ठेक्का तोड्ने प्रक्रियामा रहेको छ ।