बागलुङ, २५ फागुन– अबैध जडिबुटी ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारको देवचोकबाट निसीखोला गाउँपालिकाका दुई युवालाई जडिबुटीसहित नियन्त्रणमा लिईएको हो ।
निसीखोला गाउँपालिका–५ कारीगाउँका २४ बर्षिय मिलन भण्डारी र वडा नं. ४ कानाबगरका २१ बर्षिय रेशम बहादुर मल्ललाई नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । लु १ ज ४५२६ नम्बरको पिकअप भ्यानमा उनीहरुले सुनाखरी, बनलसुन लगायतका जडिबुटी हिँडाएका थिए ।
उनीहरुको साथबाट ८ वटा बोरामा रहेको १ सय ३८ किलो ५ सय ग्राम सुनाखरी, २ वटा बोरा र १ वटा जेब्रा झोलामा रहेको २२ किलो ५ सय ग्राम च्याउ र एक ९ किलो बनलसुन बरामद गरेको केसीले जानकारी दिए । पक्राउ परेका भण्डारी र मल्लसहित उनीहरुबाट बरामद गरिएको अवैध जडिबुटी सव–डिभिजन वन कार्यालय बुर्तिबाङमा बुझाईएको केसीले बताए ।
प्रहरीले पक्राउ गरेका व्यक्ति र जडिबुटीको बिषयमा वन कार्यालयले अनुसन्धान गरिरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताए । वन सम्बन्धि कानून र जडिबुटी सम्बन्धि कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाईने उनले बताए ।