तस्बिर नन्द विष्टको फेसबुकबाट
बागलुङ, २६ फागुन– बागलुङ नगरपालिका–४ को कमेरे खानेपानी आयोजना तत्काल अगाडि बढाउन ४ र वडा नं. ५ का बासिन्दा सहमत भएका छन् । म्याग्दीको रत्नेचौरमा सिंचाइका लागि लैजानुपर्ने भन्दै बिबाद झिकेपछि खानेपानी आयोजनामा बिबाद सिर्जना भएको थियो ।
वडा भेलाले सिंचाइका लागि पानी छाडेर खानेपानी ट्यांकी निर्माण तथा पाइपलाइन बिस्तारको काम थाल्ने निर्णय गरेको हो । बुधबार वडा नं. ४ मा वडाभेला बसेको थियो । उक्त पानीको श्रोत वडा नं. ५ को कमेरेमा पर्छ । वडा नं. ५ का अध्यक्ष हरिप्रसाद शर्मा सहितको बैठकले पानी ल्याउन सहमति दिएको हो ।
पानीको मुहानमा जग्गा भएका तीन जना जग्गावालाले पनि खानेपानीका लागि सहमति दिएपछि आयोजना अगाडि बढ्ने भएको हो । नन्दु बिष्टको अध्यक्षतामा गठित समितिले काम थाल्ने भएको वडा अध्यक्ष कुमार बिक्रम क्षेत्रीले बताए ।
‘भेलाले अनुगमन समिति तथा सल्लाहकार समिति पनि गठन गरेपछि काम अगाडि बढ्यो’ क्षेत्रीले भने, ‘वडा गौरवको आयोजनाको रुपमा नगरपालिकाबाट बिनियोजित ५० लाख रुपैयाँ खानेपानीमा लगाइने छ ।’ म्याग्दी सिमानाको कमेरेबाट ल्याउने पानीले वडा नं. ४ को अधिकांस घरपरिवारलाई शुद्ध पानी बितरण गरिनेछ ।
यसअघि यहाँको पानीमा बिबाद देखिएको थियो । रत्नेचौरमा खानेपानी र सिंचाइका लागि पनि यहाँको मुहानबाट पानी लगिएको छ । समितिले खानेपानीमा कुनै असर नपारी सिंचाइका लागि लगिएको पानीलाई आधा बनाएर ल्याउन लागेको हो । सिंचाइका लागि लैजान लागेको पानी दर्ता नभएको र २०५८ सालमा कमेरे खानेपानी आयोजना दर्ता भएकोले प्रकृया पु¥याएर ल्याउन लागेको क्षेत्रीले बताए ।
यहाँ मिलाएर खान सकेमा दुवैतर्फलाई पुग्ने पानी छ । उक्त पानीको व्यवस्थापनमा नगरपालिकाले सहजीकरण गरेको छ । बिबाद भएपछि दुई जिल्ला र नगरपालिकाका प्रतिनिधि बसेर खानेपानीका लागि बिबाद नगर्ने सहमति भएको थियो । केही बर्षअघि खानेपानी निर्माण गर्न खोज्दा बिबाद आएको र केही सामाग्री हराएको निहुँमा एकआपसमा अविश्वास बढेकोमा अब भने विश्वासको वातावरण बनाएर जाने गरी मुहान खानेपानी समितिलाई दिएको जग्गावाला चक्रपाणी शर्माले बताए ।