बागलुङ, २७ फागुन– मानवसेवा आश्रमले बेसहारा, असक्त, असहाय, अनाथ र अभिभावकबिहिन मानव मुक्त जिल्ला घोषणाको तयारी गरेको छ । आश्रमको आफ्नै भवन बनेपछि एकैपटक एकसय बढीलाई आश्रय दिन सक्नेगरी काम गरिरहेको छ । बागलुङ नगरपालिका–१ को निर्णयघाटमा निर्माणाधिन आश्रम पुरा गरेपछि उक्त सपना पुरा हुने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
गण्डकी प्रदेशलाई नै सडक मानवरहित बनाउने लक्ष आश्रमले राखेको छ । ‘हामीले अहिले भेटिएकालाई राख्ने काम गरेका छौं, तर बिस्तारै यो मानवता बढाउने लक्ष छ’ अधिकारीले भने, ‘मानवता जिवित बन्यो भने भोलीका दिनमा सडकमा मानिस अलपत्र भेटिंदैनन् ।’
शुक्रबार आश्रम र सामाजिक बिकास कार्यालय बागलुङको संयुक्त कार्यक्रममा सरोकारवालासँग छलफल पनि भएको थियो । बागलुङ नगरपालिकासहित बिभिन्न नगर तथा गाउँपालिकाका जनप्रतिनिधिको उपस्थितिमा अधिकारीले देशभरको अभियानबारे प्रस्तुतीकरण गरेका थिए । सरोकारवालासँगको भेट कार्यक्रममा उनले नेपाललाइ नै २०८२ सालभित्र सडक मानवरहित देश बनाउने उद्घोष गरे । त्यसका लागि सबै क्षेत्रको साथ र सहयोग चाहिने उनको भनाइ छ ।
अहिलेसम्म हेटौडा, बागलुङ, लमजुङ र काठमाण्डौं लगायतका स्थानमा मानवसेवा आश्रम संचालनमा छन् । ती आश्रममा सयौं आश्रीत छन् । त्यसका लागि नागरिक स्तरबाट सहयोग जुटेको छ । कतिपयले जन्मदिन, सघसंस्थाको वार्षिकोत्सव समेत आश्रममा पुगेर मनाउने, खाना खुवाउने काम पनि गरेका छन् । यो अभियानले संविधानले दिएको हक अधिकारको पालना, स्थानीय सरकार संचालन ऐनको भावना अनुसारको काम गर्ने अबसर हुने बताइएको छ ।
पर्यटन व्यवसायमा अगाडि बढेको नेपालमा बिदेशीले देख्दापनि सडक मानवरहित देश बनाउन सक्दा संसारभर सकारात्मक सन्देश जाने लक्ष राखिएको छ । बागलुङमा हाल निर्माणाधिन आश्रमका लागि झण्डै ५ करोड खर्च हुने अनुमान छ । त्यसका लागि डेढ करोड खर्च गरिसकेर भवनको केही खण्ड बनिसकेको छ । अब ३ करोड खर्चन सकेमा आर्कषक र व्यवस्थित भवन बन्ने आश्रमका संचालकहरुले बताए ।
आश्रम व्यवस्थित बनाउन जिल्लाभरका स्थानीय तहले पनि बजेट बिनियोजन गरेका छन् । ती बजेटलाई एकरुपता दिन केही समय अघि सबै पालिकाका जनप्रतिनिधि बसेर साझा मुद्दाका साझा कार्यक्रम बनाउने निर्णय पनि गरेका थिए ।