बागलुङ, ४ चैत्र– गुहेँली युनिक सञ्चार सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरामा रहेको मुख्य कार्यालयमा सहकारी शिक्षा तथा अन्तरक्रिया सम्पन्न भएको हो ।
सहकारीको वास्तविक अबस्थाका बिषयमा शेयर सदस्यहरुलाई जानकारी गराउने, बित्तिय साक्षरता सञ्चालन गर्ने शेयर सदस्यहरुलाई सहकारीप्रति जिम्मेबार बनाउनका लागि कार्यक्रम सञ्चालन गरिएको सहकारीका अध्यक्ष खिमबहादुर कार्कीले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले सहजिकरण गरेका थिए । जिसीले बचत गर्ने बानीको बिकास गर्न शेयर सदस्यहरुलाई आग्रह गरे । सहकारीको मेरुदण्ड शेयर सदस्यनै भएको भन्दै जिसीले सहकारी कस्तो बनाउने जिम्मेबारी समेत सदस्यहरुमा निहित हुने बताए ।
काठेखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष बिद्यापति शर्माले सहकारी संस्थाहरु शेयर सदस्यका साथी र बिकासका सारथी भएको बताए ।
कार्यक्रममा सहकारीका सल्लाहकारहरु हरीनारायण गौतम, दिपक गौतम चन्द्रमणि गौतम लगायतले बोलेका थिए । खिमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहकारीका कोषध्यक्ष गिता मल्ल र सञ्चालन सचिव सूर्यबहादुर थापाले गरेका थिए ।