बागलुङ, ४ चैत्र– रोट्रयाक्ट क्लव अफ बागलुङ र गल्कोटले संचालन गरेको रोट्रयाक्ट सप्ताह समापन भएको छ ।
सामाजिक कार्यसंगै युवाहरुको नेतृत्व र क्षमता बिकासमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङ र गल्कोटले एकसाथ बिभिन्न कार्यक्रमका साथ संचालन गरेको सप्ताह संयुक्त रुपमा समापन गरिएको हो ।
पर्यटन प्रवद्धनको उद्देश्यसहित बागलुङको काँठेखोला गाउँपालिका ५ मा संचालित शिवधुरी सामुदायिक होमस्टेमा आयोजित समापन समारोह तथा रमाइलो कार्यक्रमको उद्घाटन गर्दै जोन १७ का जेडआरआर ताराप्रसाद शर्माले स्वार्थभन्दा माथि सेवा भन्ने भावलाई आत्मसाथ गर्दै आएको क्लवले पर्यटनको क्षेत्रमा पनि काम गर्नु महत्वपूर्ण कार्य भएको बताए ।
उनले ओझेलमा परेका घरवास र पर्यटकिय क्षेत्रलाई उजागर गर्न सकेमा जिवनस्तरमा सुधार हुने बताए । कार्यक्रममा रोट्रयाक्ट क्लव अफ बागलुङका आगामी अध्यक्ष सुस्मिता केसी र गल्कोटका आगामी अध्यक्ष कमल खरेलले मन्तव्य व्यक्त गरेका थिए ।
शिवधुरी सामुदायिक होमस्टेका उपाध्यक्ष कोपिला पुनले कोरोनाका कारण थलिएको घरवास सेवा पछिल्लो समय चलायमान हुन थालेको बताइन् । कार्यक्रममा सप्ताह सचालन गर्न सहयोग पु¥याउने सहयोगदाता र बिभिन्न कार्यक्रमका संयोजकलाई प्रशंसा पत्र बितरण गरिएको थियो ।
कार्यक्रम रोट्रयाक्ट क्लव अफ बागलुङका अध्यक्ष झोकेन्द्र थापा मगर र गल्कोटका अध्यक्ष इश्वर गौतमको अध्यक्षता गल्कोटका उपाध्यक्ष बिदुर खरेलको स्वागत र बागलुङका सन्तोष बोहोराको संचालनमा सम्पन्न भएको थियो ।