बागलुङ, ११ चैत्र– ठेकेदारको लार्पवाहीले दुई वर्षअघि बागलुङको तमानखोला गाउँपालिकामा निर्माणाधिन आधारभूत अस्पतालको भवन अलपत्र परेको छ ।
सरकारको ‘एक पालिका, एक आधारभूत अस्पताल’को नीतिअनुसार खुंखानीमा निर्माण थालिएको तमानखोला आधारभूत अस्पतालको भवन अलपत्र परेपछि गाउँघरमै गुणस्तरिय स्वास्थ्य सेवा पाउने आशा साँचेका स्थानीयबासी निराश बनेका छन् ।
अस्पताल निर्माणका लागि २०७७ असार २० गते ज्ञान ज्योति÷कुँवर आयोजना जेभीले १३ करोड लागतमा निर्माणको जिम्मा पाएको थियो । निर्माण सम्पन्न हुनुपर्ने बेलासम्म भवनको पिलर ठड्याउनुबाहेक अरु काम हुन नसकेको स्थानीय पूर्णबहादुर विकले बताए ।
निर्माण कम्पनीले २०८० पुस २० गते सम्ममा निर्माण सम्पन्न गर्नेगरी पहिलोपटक म्याद थपेको छ । तमानखोला गाउँपालिका वडा नं. ५ का अध्यक्ष हीराबहादुर विकले ठेकेदारलाई पटक–पटक ताकेता गरेपनि विभिन्न बहाना बनाएर काम नगरेको बताए ।
‘निर्माण कम्पनीसँग बसेर छलफल गरियो, निर्धारित समयभित्र काम सक्छौँ भनेपनि फिल्डमा काम गर्न आउँदैनन्’ अध्यक्ष विकले भने, ‘विद्युत, खानेपानी र कामदारका लागि बस्ने व्यवस्थापनसमेत गरेका थियौँ, अस्पताल समयमै बनोस् भन्ने चाहेका छौ ।’
अस्पताल संघीय सरकारले विनियोजन गरेको बजेटबाट निर्माण हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठले थपेको म्यादसम्म काम नगरे ठेक्का रद्द गर्ने बताइन् ।