हात्तीपाईले रोग आम औषधि सेबन कार्यक्रमको प्रगति तथा मासिक समिक्षामा सामुदायिक महिला स्वास्थ्य स्यंसेविकाहरू । –तस्बिर : मालिका स्वास्थ्य चौकी फेसबुक पेजबाट
बागलुङ, १३ चैत्र– शत प्रतिशतलाई खुवाएर हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य राखिएको बागलुङको नारायणस्थानमा १ सय १२ प्रतिशतले औषधि खाएका छन् । यसअघि ६५ प्रतिशतले पनि औषधि नखाएकोले निवरणमा समस्या भएको थियो ।
निवरण नभएकै कारण बागलुङमा १४ औं पटकसम्म औषधि खुवाउनुपरेको थियो । सबैभन्दा धेरै संक्रमित भेटिएको बागलुङ नगरपालिका वडा नं. १४ को नारायणस्थानमा संक्रमित पनि धेरै भेटिएका थिए । अहिलेको मेहेनतबाट तोकेभन्दा बढीले औषधि खाएको स्वास्थ्यचौकी इन्चार्ज ऋषिराम शर्माले बताए ।
१३ पटकसम्म पनि निवारण गर्न नसक्दा यो पटक नगर स्वास्थ्य शाखाले प्रत्येक नागरिकको खोप कार्ड जस्तै हात्तिपाइले कार्ड समेत बनाएर औषधि खुवाएको हो । नारायणस्थानमा ३ हजार २ सय ३२ जनाले खानुपर्नेमा ३ हजार ६ सय २० जनाले खाएको तथ्यांक छ । अझै बेवास्ता गरेका ५ जनाले औषधि खान बाँकी छ ।
‘घर घरमा पुगेर कोही नछुटाई औषधि खुवायौं’ शर्माले भने, ‘नखाएको अबस्थामा नगरपालिकाको सेवा सुविधा रोक्ने चेतावनी दिएपछि मात्र खाएका छन् ।’ तोकिएको तथ्यांकमा अन्यत्रबाट काम गर्न आएका मजदुर तथा पाहुनालाई पनि घर घरमा पुगेर औषधि खुवाएपछि १ सय १२ प्रतिशत पुगेको शर्माले जानकारी दिए ।
हात्तिपाइले रोगको किटाणु मानव शरीरमा भए नभएको पत्ता लगाउन यसअघि नारायणस्थानमै ३ सय जनामा ‘प्रि ट्रान्समिसन एसेस्मेन्ट सर्भे’ गरिएको थियो । उक्त सर्भेमा उत्तिर्ण भएपनि यो अन्तिम पटक औषधि खुवाइएको हो ।
अब गरिने ट्रान्समिसन सर्भे उत्तिर्ण भएमा नारायणस्थानमा औषधि खुवाउन पर्दैन । फागुन १० गतेदेखि शुरु औषधि खुवाउने कार्यक्रम फागुनभरी संचालित थियो । नगर र जिल्लाभरी संचालित अभियानमा अधिकांसले औषधि खाएका छन् ।